झापामा शान्तिका लागि छलफल
झापा, ३१ वैशाख – हालै झापा जिल्लामा कार्यभार सम्हाल्न आएका प्रहरि प्रमुख एसपी राजन लिम्बूले जिल्लामा क्रियाशील प्रमुख राजनीतिक दलका नेताहरुसँग शान्ति सुरक्षा तथा सुरक्षा रणनीति सम्बन्धमा संयुक्त छलफल सम्पन्न गरेका छन् ।
छलफलमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्व) का झापा जिल्ला इन्चार्ज कमरेड सुमनसिंह सीले जिल्लामा फैलँदो लागू औषध कारोबार विरुद्ध विशेष अपरेशन सञ्चालन गर्न, क्यासिनो व्यवसायले निम्त्याएका सामाजिक समस्या रोक्न, मिटरब्याजी र वित्तीय गुण्डाराजविरुद्ध कडा कारवाही अघि बढाउन, सिमाना क्षेत्रमा भइरहेका असामान्य गतिविधिहरूको समाधान गर्न तथा सामाजिक अपराध र गुण्डागर्दी नियन्त्रणका लागि विशेष योजना निर्माण गर्न सुझाव प्रस्तुत गरे ।
इन्चार्ज सुमनसिंहले जिल्लाको शान्ति सुरक्षामा देखिएको कमजोरीका कारणबारे चर्चा गर्दै राजनीतिक दलहरूले जस्ता–सुकै घटनाहरूलाई मिलाउने, दलगत स्वार्थका आधारमा मान्यता स्थापित गर्ने र प्रहरीमाथि अनावश्यक दबाब सिर्जना गर्ने प्रवृत्तिले समस्या थपिएको उल्लेख गरे। उनले सबै दलहरू आत्मसमिक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।
छलफलमा नेपाली कांग्रेस झापा सभापति देउमान थेवे, नेकपा एमालेका प्रतिनिधि, माओवादी केन्द्र झापा संयोजक अग्नि, रास्वपा, राप्रपा लगायत दलका नेताहरूको उपस्थिति थियो ।
एसपी लिम्बूले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न र प्रहरी प्रशासनलाई जनमैत्री बनाउन सम्पूर्ण दलहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
यस छलफलले झापाको शान्ति सुरक्षालाई सुदृढ बनाउन राजनीतिक दल र सुरक्षाअंगबीच आवश्यक समन्वय र सहकार्यको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।