खेलकुद

प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टिमको उत्कृष्ट प्रदर्शन, व्यक्तिगत स्पर्धामा च्याम्पियन

प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टिमको उत्कृष्ट प्रदर्शन, व्यक्तिगत स्पर्धामा च्याम्पियन
  • PublishedMay 10, 2025

भुटानको राजधानी थिम्पूमा सम्पन्न प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टिमले चम्किलो सफलता हात पारेको छ। नेपाली खेलाडीहरूले ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्दै व्यक्तिगत स्पर्धामा समग्र च्याम्पियन बन्न सफल भएका हुन् । प्रतियोगितामा चार दक्षिण एसियाली मुलुकका आठ टिमले सहभागिता जनाएका थिए। नेपालबाट बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) का खेलाडीहरूले प्रतिनिधित्व गरेका थिए। एमएमएसीका प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठका अनुसार नेपाली टिमले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको र यसले भविष्यमा खेलाडीहरूलाई अझ हौसला दिने बताइएको छ । प्रतियोगितामा स्रष्टा नापित नेपाली टिमकी स्टार खेलाडी बनिन्। उनले महिला ५७ केजी तौल समूहमा स्वर्ण जित्नुका साथै खुला तौल समूहमा समेत स्वर्ण पदक आफ्नो पोल्टामा पारिन्। प्रतियोगितामा ५७ केजी तौल समूहमा खेल्ने प्रतिस्पर्धीहरूले खुला तौल समूहमा समेत प्रतिस्पर्धा गर्न पाउने प्रावधान रहेको थियो, जसको फाइदा नापितले राम्रोसँग उठाइन् । पुरुष स्पर्धातर्फ साइमन तामाङले ३६ केजी तौल समूहमा र सदिन तामाङले ४० केजी तौल समूहमा स्वर्ण पदक जिते । महिला ३६ केजी तौल समूहमा जेनिशा वाइबाले रजत पदक प्राप्त गरिन् भने पुरुष ५० केजीमा जुविन महर्जनले कांस्य पदक जित्दै नेपाललाई थप पदक दिलाए । प्रतियोगिताको अन्तिम दिन आइतबार मिक्स टिम इभेन्ट हुनेछ, जहाँ नेपाली टिमले अझै पदक थप्ने लक्ष्य लिएको छ। प्रशिक्षक श्रेष्ठले टिमको तयारी राम्रो रहेको र मिक्स टिम इभेन्टमा पनि उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। नेपालको यो सफलता नेपाली जुडोको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ। साथै, यसले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफूलाई प्रमाणित गर्ने प्रेरणा दिने अपेक्षा गरिएको छ !

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *