पत्रकार पक्राउ: सामाजिक सञ्जालमा पृथकतावादी विचार फैलाएको आरोप
जम्मु काश्मिर प्रहरीले चर्चित वरिष्ठ पत्रकार हिलाल मिरलाई सामाजिक सञ्जालमा भारतविरोधी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ। प्रहरीको काउन्टर इन्टेलिजेन्स काश्मिर (सीआईके) शाखाले उनलाई हिरासतमा लिएको हो ।
मिडिया रिपोर्टअनुसार, टर्कीको एक अन्तर्राष्ट्रिय समाचार एजेन्सीका लागि काम गरिरहेका मिरले सामाजिक सञ्जालमार्फत युवाहरूलाई भड्काउने, भारतको गलत छवि प्रस्तुत गर्ने र पृथकतावादी विचार फैलाउने प्रयास गरेका थिए। प्रहरीका अनुसार उनले सामाजिक सञ्जालमा कट्टरपन्थी विचारहरू प्रस्तुत गर्दै देशविरोधी भावना भड्काउने सामग्री पोस्ट गर्दै आएका थिए ,सीआईकेको दाबी छ कि हिलाल मिर लामो समयदेखि निगरानीमा थिए र उनीमाथि प्राप्त प्रमाणहरूका आधारमा आवश्यक कानुनी कारबाही थालिएको हो। मिरमाथि घृणा फैलाउने, देशविरोधी गतिविधिलाई बढावा दिने र शान्ति भंग गर्ने आशंकामा अनुसन्धान सुरु गरिएको जनाइएको छ । हिलाल मिर यसअघि हिन्दुस्तान टाइम्स लगायतका ठूला सञ्चारमाध्यमहरूमा कार्यरत रहेर पत्रकारिता गरेका थिए। उनले काश्मिरमा मानव अधिकार, राजनीति र सामाजिक विषयहरूमा रिपोर्टिङ गर्दै आएका थिए। पत्रकारिता क्षेत्रमै लामो अनुभव भएका मिरको पक्राउले स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको बहस पनि चुलिएको छ । यस घटनाले भारतको काश्मिर नीतिको आलोचना गर्दै आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संस्था र पत्रकारिता संघसंस्थाहरूको ध्यान आकर्षित गरेको छ। धेरैले यो घटनालाई प्रेस स्वतन्त्रता विरुद्धको कदमको रूपमा हेरेका छन् भने प्रहरी प्रशासनले भने कानुनी प्रक्रिया अनुरूप मात्र कारबाही गरिएको जनाएको छ ।