“शंका, झगडा र अन्ततः ज्यानमै सिमित प्रेम: नेपाली सेनाबाट फर्किएर श्रीमतीको ह!त्या”
छिन्चु, सुर्खेत –
नेपाली समाजमा पछिल्ला वर्षहरूमा पारिवारिक असमझदारी र आपसी शंकाले हिंसात्मक रूप लिँदै गएको तथ्य पुनः एकपटक पुष्टि भएको छ। नेपाली सेनाबाट डेढ घण्टाअघि मात्र बिदामा घर आएका २८ वर्षीय दर्शन खत्रीले आफ्नै २६ वर्षीया श्रीमती प्रेम ओली खत्रीको ह!त्या गरेका छन् । घटनाले समाजमा बढ्दो वैवाहिक असमझदारी, विश्वासको संकट र पारिवारिक सम्बन्धमा देखिएको खतरनाक बिन्दुलाई उजागर गरेको छ । दर्शन र प्रेमबीच विगत पाँच वर्षदेखि सम्बन्धमा खटपट चलिरहेको थियो। झगडा, आपसी शंका र सम्बन्ध विच्छेदको अन्तिम चरणमा पुगेका उनीहरूबीचको सम्बन्ध शनिबार साँझ अन्तिम र घातक मोडमा पुगेको हो । दशैंमा समेत घर नआएका दर्शन खत्री शनिबार साँझ बिदा लिएर छिन्चु बजार आइपुगेका थिए। उनले श्रीमती प्रेमलाई “सामान लिनु छ” भन्दै बजारमा बोलाए। आकस्मिक रूपमा श्रीमानलाई देखेपछि प्रेमले झुट बोलेको बताएकी थिइन्। त्यसैको आधारमा उनीहरूबीच घर फर्किने क्रममा गम्भीर विवाद सुरु भयो । विवाद चर्कँदै जाँदा दर्शनले प्रेमको मोबाइल खोसेर हेरे र त्यहाँ अर्का पुरुषको फोटो देखेपछि आक्रोशमा आए। रिसले अन्धो बनेका दर्शनले बाटोमै ढुंगाले प्रेमको टाउकोमा प्रहार गरे। प्रेम लडिपछि उनले प्रेमाकै सालले घाँटी कस्दै हत्या गरे र खोल्सामा फालिदिए। प्रेम आफैं मृत देखियोस् भनेर यस्तो योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रेमले पनि झगडाको क्रममा दर्शनमाथि अन्य महिलासँगको सम्बन्ध रहेको आरोप लगाएकी थिइन्। आपसी अविश्वास, दुवै तर्फको शंका र विगतका असमझदारीहरूले अन्ततः प्रेमको ज्यान लिएको हो । घटनापछि दर्शन राति ८ बजे घर फर्किएका थिए। प्रेमको शव फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले दर्शनलाई नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दा, परिवार र सुरक्षाकर्मीहरूको भनाइ अनुसार यस्तो घटना पूर्ण रूपमा रोक्न समाजमा मानसिक स्वास्थ्य, सम्बन्ध सुधार र संवादको आवश्यकता अझै गहिरिँदै गएको छ।