जीवनशैली

साहित्य चौतारी बिर्तामोडद्वारा कनकाई माविमा ‘हर्क–लोक स्मृति प्रतिभा पुरस्कार’ स्थापनाका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ अक्षयकोष हस्तान्तरण

साहित्य चौतारी बिर्तामोडद्वारा कनकाई माविमा ‘हर्क–लोक स्मृति प्रतिभा पुरस्कार’ स्थापनाका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ अक्षयकोष हस्तान्तरण
  • PublishedApril 27, 2025

साहित्य चौतारी बिर्तामोड झापाले कनकाई–३ स्थित सुरुङ्गाको कनकाई माध्यमिक विद्यालयलाई ‘हर्क–लोक स्मृति प्रतिभा पुरस्कार’ स्थापनाका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ बराबरको अक्षयकोष प्रदान गरेको छ।

शनिवार विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा साहित्य चौतारीका संस्थापक संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठसहित चौतारीका पदाधिकारी तथा सदस्यहरूले विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी र व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईलाई चेक हस्तान्तरण गरेका हुन्।

स्व. हर्कबहादुर प्रधान तथा लोकबहादुर पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिएको हो। अध्यक्ष श्रेष्ठले स्व. प्रधान र पौडेल आफ्नो व्यावसायिक जीवनका गुरु र अभिन्न सहयोगी भएकाले तिनको नाम जीवन्त राख्न अक्षयकोष स्थापना गरिएको बताए।

कार्यक्रममा कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदी प्रमुख अतिथि रहेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदी, साहित्य चौतारीका अध्यक्ष श्रेष्ठ, कनकाई–३ का वडाध्यक्ष युवराज चम्लागाई, विद्यालय सल्लाहकार संयोजक जर्नादन उप्रेती, शनिश्चरे क्याम्पस प्रमुख मोहनप्रसाद ओली, अक्षयकोषकी संरक्षक मुनादेवी श्रेष्ठ लगायतले आ–आफ्ना भनाइ राखेका थिए।

विद्यालयका प्रधानाध्यापक डाँगीले स्वागत मन्तव्य राख्दै विद्यालयले १ करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको र हालसम्म १३ संघसंस्था तथा व्यक्तिहरूको सहयोगमा करिब २३ लाख रुपैयाँ संकलन भइसकेको जानकारी गराए।

कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक तीर्थराज खरेलले गरेका थिए।

कार्यक्रमका अवसरमा साहित्य चौतारीकी सदस्य मिना अधिकारीले कविता वाचन गरेकी थिइन् भने अध्यक्ष श्रेष्ठसहित चौतारीका अन्य पदाधिकारी तथा सदस्यहरूले स्वागत गीत प्रस्तुत गरेका थिए।

अक्षयकोष स्थापना कार्यक्रममा साहित्य चौतारीका सल्लाहकार तथा लोकगायक अनिरुद्र ओली, वडासदस्य गोविन्द सुवेदीसहित विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *