संसद बैठकमा सांसदहरूको सरकारलाई समसामयिक मुद्दामा गम्भीर ध्यानाकर्षण
काठमाडौँ, १४ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक मुद्दाहरूमा गहिरो चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन्। राजधानी काठमाडौंमा भइरहेका शिक्षक, चिकित्सक, लघुवित्त र सहकारी पीडितका आन्दोलनहरूलाई सम्बोधन गर्न तथा मौलिक हकहरूको कार्यान्वयन सुनिश्चित गर्न माग गर्दै उनीहरूले सरकारलाई गम्भीर र संवेदनशील बन्न सुझाव दिएका हुन् ।
बैठकको शून्य समयमा सांसदहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनअपेक्षा र संविधानका मर्मअनुसार तयारी गर्न जोड दिए । सांसद अर्जुननरसिंह केसीले शिक्षकहरूसँग विगतमा भएका सहमतिको तत्काल कार्यान्वयन आवश्यक रहेको भन्दै सरकारलाई शिक्षकमाथि भइरहेको आन्दोलन समाधान गर्न कडा आग्रह गर्नुभयो। उहाँले आवासीय चिकित्सक, स्थानीय तहका कर्मचारी तथा लघुवित्त र सहकारी पीडितका समस्याहरूलाई गम्भीरताका साथ सम्बोधन गर्न पनि आग्रह गर्नुभयो । त्यस्तै, सांसद अम्मरबहादुर थापाले शिक्षकहरूसँग तत्काल संवाद थाल्न र वार्ताबाट समाधान खोज्न सरकारलाई सुझाउनुभयो। सांसद कान्तिका सेजुवालले निःशुल्क र गुणस्तरीय शिक्षाको हक सुनिश्चित गर्न र आगामी आवको कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्न माग गर्नुभयो । सांसद गङ्गा कार्कीले सडक आन्दोलनरत चिकित्सक, शिक्षक, र लघुवित्त पीडितहरूको आवाजलाई सम्बोधन गर्दै उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारलाई आह्वान गर्नुभयो। सांसद आश्माकुमारी चौधरीले जनभावनालाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।डा अमरेशकुमार सिंहले राष्ट्र प्रमुख तथा मन्त्रीहरूले वैदेशिक भ्रमणका क्रममा पाएका उपहारहरूलाई संग्रहालयमा राख्न सुझाव दिनुभयो, जसले पारदर्शिता र ऐतिहासिक महत्व कायम राख्न मद्दत पुग्नेछ । सांसद असिम साहले सामाजिक सञ्जालहरू नेपालको कानुनअनुसार दर्ता भई सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो र हाल देखिएका कानुनी जटिलता हटाउन विशेष पहल आवश्यक रहेको बताउनुभयो । सांसद ईश्वरबहादुर रिजालले लोकतन्त्र र जनताले चुनेको व्यवस्थालाई अपहेलित गर्ने पश्चगामी सोच र चिन्तन अस्वीकार्य रहेको प्रस्ट पार्नुभयो। उहाँले राजतन्त्र फर्कने सपना देख्न नहुने चेतावनी दिनुभयो । सांसद ईश्वरी घर्तीले पहाडी क्षेत्रमा पिउने पानीको चरम अभाव रहेको भन्दै आगामी बजेटमा प्रत्येक वडामा ‘रिचार्ज पोखरी’ निर्माणको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो । यसैगरी, सांसद उर्मिला माझीले सिन्धुपाल्चोकको माझी बस्तीका ५५ परिवार बैंकको कालोसूचीमा परेर लिलामीको संघारमा पुगेको विषयमा ध्यानाकर्षण गराउँदै बस्ती र समुदायको संरक्षणका लागि सरकारको तुरुन्त पहल माग गर्नुभयो । सांसद एकनाथ ढकालले जेठ पहिलो साता काठमाडौंमा आयोजना हुने “सगरमाथा संवाद” को तयारीमा सांसदहरूलाई समेत सक्रिय रुपमा समावेश गराउन अनुरोध गर्नुभयो। सांसद कालुराम राईले हिउँदयाममा डढेलो तथा आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न व्यापक जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । विदेशी घटनाक्रमसम्बन्धी विषयमा, सांसद अनिता देवी र सांसद किरणकुमार साहले भारतको जम्मुकश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति निन्दा व्यक्त गर्नुभयो । उनीहरूले धर्मका नाममा गरिने हिंसात्मक गतिविधि अस्वीकार्य भएको भन्दै आतङ्कवादविरुद्ध विश्व समुदाय एक हुनुपर्नेमा जोड दिनुभयो। सांसद ज्वालाकुमारी साहले काठमाडौँको तीनकुनेमा भएको आपराधिक घटनाको पनि भत्र्सना गर्नुभयो । सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन सरकारलाई गम्भीर पहल गर्न आग्रह गर्नुभयो। यस्तै, सांसद छिरिङ डम्डुल लामाले बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रियाबारे स्पष्ट जानकारी सदनलाई दिन सरकारसँग माग गर्नुभयो । प्रतिनिधिसभाको आजको बैठकले समसामयिक समस्याहरूमा सरकारलाई गम्भीर कदम चाल्न बाध्य पार्ने खालको बहस सृजना गरेको देखिएको छ। सांसदहरूले उठाएका विविध आवाजहरू आगामी नीति, कार्यक्रम र बजेटमा कत्तिको समेटिन्छ भन्ने जनअपेक्षा पनि उच्च रहेको छ ।