शिक्षक आन्दोलनमा रिपोर्टिङ गर्दै गर्दा पत्रकार सविना कार्की गम्भीर घाइते, तिलगंगा आँखा अस्पतालमा उपचार जारी
काठमाडौं, बैशाख १४ – नयाँ बानेश्वरमा आइतबार जारी शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की गम्भीर घाइते भएकी छन्। आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास हुँदा प्रहरीले बल प्रयोग गरेपछि कार्की प्रत्यक्ष प्रभावित बनेकी हुन्। सडकछेउमा उभिएर प्रत्यक्ष प्रसारण गरिरहेकी कार्कीको आँखामा पानीको फोहोरा प्रहार भएको थियो, जसका कारण उनी गम्भीर चोटको सिकार भइन् । प्राप्त जानकारीअनुसार कार्कीको दुवै आँखामा चोट लागेको छ। प्रारम्भमा सिभिल अस्पतालमा उनलाई प्राथमिक उपचार दिइएको थियो। त्यसपछि थप उपचारका लागि ट्रमा सेन्टर हुँदै उनलाई अहिले तिलगंगा आँखा अस्पतालमा भर्ना गरिएको छ। प्राइम टेलिभिजनका प्रधान सम्पादक मुकुन्द दाहालले कार्कीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेकाले विशेषज्ञहरूको टोलीबाट उपचार भइरहेको जानकारी दिएका छन् । झडपका क्रममा सुरक्षाकर्मीहरूले कार्कीलाई घाइते अवस्थामा बोकेरै अस्पतालसम्म पुर्याएका थिए। उक्त दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसले आम सर्वसाधारणदेखि सञ्चारकर्मीहरूसम्मको ध्यान तानेको छ। भिडियोमा सुरक्षाकर्मीहरूलाई कार्कीलाई उठाएर दौडिँदै लैजाँदै गरेको देख्न सकिन्छ । प्रसारण निर्देशक राजु भण्डारीका अनुसार कार्कीको आँखाको परेलामुनि गहिरो चोट लागेको छ। प्रारम्भिक जाँचपछि दृष्टिमा समस्या देखिएको हुनाले विशेषज्ञ उपचारका लागि तिलगंगामा सिफारिस गरिएको थियो। भण्डारीले कार्कीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको भए पनि पूर्ण रुपमा अवस्था स्थिर भइनसकेको बताएका छन् । शिक्षक आन्दोलनको २६ औं दिनमा निषेधित क्षेत्रतर्फ शिक्षकहरूको भिड प्रवेश गर्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गरेको हो। नेपाल शिक्षक महासंघले प्रहरीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ भने प्रशासनले निषेधित क्षेत्र उल्लंघन भएपछि कानुनी कारबाही गर्नु परेको दाबी गरेको छ । घटनापछि विभिन्न सञ्चार माध्यम, पत्रकार महासंघ लगायतका संघसंस्थाले घटना प्रति दुःख व्यक्त गर्दै स्वतन्त्र र सुरक्षित रिपोर्टिङ गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। पत्रकारको सुरक्षालाई बेवास्ता गरिएको भन्दै विरोधका स्वरहरू चर्किएका छन् । यसबीच, सविना कार्कीको स्वास्थ्य अवस्था बारे थप जानकारी दिनका लागि प्राइम टेलिभिजनले आज साँझ विशेष प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरेको छ ।