विद्यालय पाठ्यक्रममा भूकम्पीय शिक्षा किन ?
– सुडल राई

नेपाल भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरूको सङ्गमस्थलमा रहेको देश हो, जसले यसलाई संसारकै सबैभन्दा भूकम्पीय जोखिमयुक्त मुलुकहरूमध्ये एक बनाएको छ । सन् १९९० को ८.४ म्याग्निच्युड र २०७२ सालको ७.८ म्याग्निच्युड, यी दुई भूकम्पले हजारौँको ज्यान लिएको र देशका पूर्वाधारहरू ध्वस्त भएका थिए । यस्ता दुःखद र स्मरणीय घटनाहरूका बाबजुद पनि हाम्रा विद्यालयहरूमा भूकम्पीय शिक्षाको अभावले ठूलो चुनौती निम्त्याएको छ ।
हालसालैका भूकम्पीय घटनाहरूले यस अभावलाई थप प्रस्ट पारेको छ । २३ पुस (७ जनवरी) मा चीनको तिब्बतमा ७.१ म्याग्निच्युडको भूकम्प जाँदा नेपालका पनि विभिन्न भागहरू हल्लिए । बारा जिल्लास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीहरू भूकम्पको त्रासले बेहोस भए । अस्पतालसमेत भर्ना भए । यस्तै, जाजरकोट-पश्चिम रुकुम भूकम्पले १ शिक्षक र ११ विद्यार्थीहरूको ज्यान लियो । भूकम्पमा २ शिक्षक र २० विद्यार्थी घाइते भए । यी घटनाहरूले हाम्रा विद्यालय पाठ्यक्रममा भूकम्पसम्बन्धी उचित र यसबाट बच्न के कस्ता तयारी तयार गर्नुपर्छ भन्ने अभाव रहेको उजागर हुन्छ ।
भूकम्पीय जोखिमको वैज्ञानिक आधार
भू-वैज्ञानिकहरूका अनुसार नेपालको भूकम्पीय जोखिम भारतीय र युरेसियन प्लेटहरूबीचको वार्षिक २ सेन्टिमिटर गति तथा यसले मेन हिमालयन थ्रस्टमा सिर्जना गर्ने तनावसँग प्रत्यक्ष सम्बन्धित छ । सन् २०७२ वैशाखको गोरखा भूकम्पपछि भएका वैज्ञानिक अनुसन्धानहरूले पश्चिम नेपाल र भारतीय क्षेत्रमा भविष्यमा ठूलो भूकम्पको जोखिम उल्लेखनीय रूपमा बढेको औँल्याएका छन् । थप रूपमा, ठूला भूकम्पहरूको औसत पुनरावृत्ति अवधि ३०० देखि ८७० वर्षको बीचमा हुने अनुमान गरिएको छ, जसले यस क्षेत्रमा भूकम्पीय सतर्कताको आवश्यकता झन् बढाएको छ ।
विद्यालय पाठ्यक्रममा भूकम्पीय शिक्षाको अवस्था
नेपालमा विद्यालयस्तरमा भूकम्पीय शिक्षाको अवस्था निकै कमजोर छ । खानी तथा भू-गर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्रले सन् १९७८ देखि भूकम्पीय गतिविधिहरूको अनुगमन गरिरहेको छ । त्यस्तै, शहरी विकास तथा भवन निर्माण विभागले भवन आचारसंहिताको डिजाइन र कार्यान्वयनमा योगदान पुर्याउँदै आएको छ । २०७२ वैशाखको गोरखा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरियो, जसले भूकम्पका कारण क्षति भएका भवनहरूको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यो ।
राष्ट्रिय भूकम्प प्रविधि समाज, नेपाल भौगर्भिक समाज, नेपाल इन्जिनियरिङ भू-विज्ञान समाज, नेपाल भौगर्भिक विद्यार्थी समाज, एसईजी स्टुडेन्ट च्याप्टरलगायत संस्थाहरूले पनि विपद् जोखिम न्यूनीकरणमा समुदायस्तरमा प्रभावकारी कार्य गर्दै आएका छन् । यस्ता प्रयासहरूका बाबजुद विद्यालय पाठ्यक्रममा भूकम्पसम्बन्धी औपचारिक शिक्षा कुनै पनि तहमा समावेश गरिएको छैन ।
नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा विद्यालयस्तरमै भूकम्पीय शिक्षा समावेश गरिनु आवश्यक छ । यस्तो शिक्षाले विद्यार्थीहरूलाई भूकम्पका वैज्ञानिक कारण, जोखिम न्यूनीकरणका उपाय र आपत्कालीन समयमा सुरक्षित रहने सीप सिकाउन मद्दत गर्छ ।
जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाको एक विद्यालयमा विज्ञान अध्यापन गराउँदै आएका शिक्षक तथा भू-गर्भविद् गणेश अधिकारीका अनुसार विद्यालयको विज्ञान पाठ्यक्रममा भूकम्पीय शिक्षासम्बन्धी पाठ पूर्ण रूपमा अभाव छ । उनले भने, ‘यदि यस्ता विषयहरू विज्ञान पाठ्यक्रममा समावेश गरिएको भए जाजरकोट-पश्चिम रुकुम भूकम्पमा धेरै विद्यार्थीहरूको ज्यान जोगिन सक्थ्यो ।’
सन् २०२३ मा प्रकाशित एक अध्ययनले पनि नेपालका विद्यालयहरूमा भूकम्पीय शिक्षा अभाव रहेको पुष्टि गरेको छ । भक्तपुरका सरकारी विद्यालयहरूमा अध्ययनरत कक्षा ९ र १० का करिब ५० प्रतिशत विद्यार्थीहरूले भूकम्पसम्बन्धी पर्याप्त जानकारी नराखेको पाइएको छ ।
‘वौद्धिक अभियान’ जर्नलमा प्रकाशित सोही अध्ययनअनुसार, विद्यार्थीमध्ये केवल २.१ प्रतिशतले मात्र भूकम्पको बेला ‘डक, कभर एन्ड होल्ड’ विधि अभ्यास गरेका थिए । यी तथ्यहरूले विद्यालयस्तरमा भूकम्पीय शिक्षाको अभाव र त्यसको आवश्यकतालाई स्पष्ट रूपमा उजागर गर्दछ ।
पाठ्यक्रममा भूकम्पीय शिक्षा किन ?
पाठ्यक्रममा भूकम्पीय शिक्षालाई महत्त्वका साथ राख्नु अत्यन्त आवश्यक छ । यसले विद्यार्थीहरूलाई भूकम्प किन र कसरी आउँछ भन्ने वैज्ञानिक कारण, यसको प्रभाव र सुरक्षित उपायहरूबारे बुझ्न मद्दत पुर्याउँछ । विद्यालयमा सुरक्षित संरचना, आपत्कालीन योजना र नियमित अभ्यास (ड्रिल)मार्फत विद्यार्थीहरूलाई भूकम्पको समयमा सुरक्षित रहने क्षमता प्रदान गर्छ ।
विद्यार्थीहरूले सिकेका ज्ञान र सीप परिवार र समुदायमा बाँड्न सक्छन्, जसले सामूहिक रूपमा जोखिम न्यूनीकरणमा सहयोग पुर्याउँछ । साथै, यसले भूकम्पजस्ता विपद्बाट डराउनेभन्दा सामना गर्ने क्षमता विकास गराउँछ । यदि पाठ्यक्रममा भूकम्पीय शिक्षा प्रभावशाली तरिकामा समावेश गरिएको थियो भने बारा जिल्लास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ का विद्यार्थीहरू भूकम्पको त्रासले बेहोस हुने स्थिति सिर्जना हुने थिएन । भूकम्पीय शिक्षाले विद्यार्थीहरूलाई भूकम्पको समयमा के गर्ने भन्ने निर्णय लिन मद्दत पुर्याउँछ, जसले उनीहरूको सुरक्षा र मानसिक तयारीलाई बलियो बनाउँछ ।
विश्वका धेरै देशहरूले आफ्ना भूकम्पीय जोखिमलाई ध्यानमा राख्दै विद्यालयका पाठ्यक्रममा भूकम्पीय शिक्षा समावेश गरेका छन् । भूकम्पीय जोखिम उच्च रहेको इरानले भूकम्प शिक्षा प्रणालीलाई प्राथमिकदेखि उच्च तहसम्म व्यापक रूपमा लागू गरेको छ । यो शिक्षा पूर्वप्राथमिक विद्यालयदेखि सुरु भई माध्यमिक तहसम्म जारी रहन्छ । प्राथमिक तहमा विद्यार्थीहरूलाई भूकम्प कसरी उत्पन्न हुन्छ र भूकम्पको समयमा सही निर्णय कसरी गर्ने भन्नेबारे सिकाइन्छ, जबकि माध्यमिक र उच्च माध्यमिक तहमा यो शिक्षा आपत्कालीन परिस्थितिमा कसरी प्रतिक्रिया जनाउन सकिन्छ भन्ने कुरामा केन्द्रित हुन्छ ।
अन्त्यमा, नेपालजस्तो भूकम्पीय जोखिमयुक्त देशमा विद्यालयस्तरमै भूकम्पीय शिक्षा समावेश गरिनु आवश्यक छ । यस्तो शिक्षाले विद्यार्थीहरूलाई भूकम्पका वैज्ञानिक कारण, जोखिम न्यूनीकरणका उपाय र आपत्कालीन समयमा सुरक्षित रहने सीप सिकाउन मद्दत गर्छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रले सेस्मोलोजिस्ट, भू-वैज्ञानिक र शिक्षाविद्सँग सहकार्य गर्दै व्यावहारिक र उपयुक्त भूकम्पीय शिक्षण सामग्री तयार गर्नुपर्नेछ । यस प्रकारको पहलले भविष्यमा भूकम्पका कारण हुने जनधनको क्षति घटाउन र दीर्घकालीन आपत्कालीन तयारी र प्रतिरोधात्मक संस्कृतिको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । आजको दिनमा भूकम्पीय शिक्षालाई प्राथमिकता दिनु भनेको भविष्यमा एक सुरक्षित र जानकारीपूर्ण नेपाल निर्माणको आधार तयार गर्नु हो ।