दाहालको आरोप: ‘सरकार सुशासनविरुद्ध बिचौलियाहरूको सरकार’
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हालको सरकारलाई सुशासनविरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सरकार गैर जिम्मेवार, भ्रष्टाचार प्रवर्द्धक र जनहित विरोधी रहेको दाबी गरे ।
उनले सरकार दलाल पुँजीपति, बिचौलिया र नोकरशाहहरूको पक्षमा काम गरिरहेको, भ्रष्टाचारलाई संरक्षण गरिरहेको र ईमानदार रूपमा काम गर्नेहरूलाई प्रताडित गरिरहेको आरोप लगाए। “अहिले अलिकति पनि राजनीतिक विवेक र ज्ञान भएका सबैले यो सरकार बिचौलियाहरूको सरकार हो भन्ने कुरा स्वीकार गरिसकेका छन्,” दाहालले भने ।
देशमा उत्पन्न असामान्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले शिक्षकमाथिको आन्दोलनलाई उदाहरणका रूपमा प्रस्तुत गरे। लाखौँ शिक्षक झन्डै एक महिनादेखि आन्दोलनरत रहेकामा सरकार गम्भीर नभएको र उल्टै शिक्षा क्षेत्रमा अराजकता बढाउने तथा शिक्षकहरूलाई अपमानित गर्ने कार्यमा लागेको आरोपसमेत लगाए ।
अध्यक्ष दाहालले शिक्षकमाथि भएको सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउँदै, माओवादी केन्द्र शिक्षकहरूको जायज मागलाई समर्थन गर्दै छोटो बाटोबाट ऐन संशोधन गरेर समाधान खोज्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।