शिक्षा

शिक्षक आन्दोलन अझै जारी, महासंघको स्पष्ट भनाइ

शिक्षक आन्दोलन अझै जारी, महासंघको स्पष्ट भनाइ
  • PublishedApril 25, 2025

काठमाडौं, नेपाल — शिक्षक महासंघ नेपालले शिक्षकहरूको आन्दोलन अझै पनि जारी रहेको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आन्दोलन अन्त्य नभएको स्पष्ट पारेका हुन् ।

सर्वोच्च अदालतले बिहीबार एक अन्तरिम आदेश जारी गर्दै तीन दिनभित्र शिक्षकहरूलाई विद्यालय फर्कने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको थियो। सो आदेशमा अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र बालबालिकालाई शिक्षा प्राप्त गर्ने अधिकारबाट वञ्चित नगराउन भनिएको छ ।

तर महासंघले भने आन्दोलनको माग पूरा नभएकाले आन्दोलन जारी रहने जनाएको छ। अध्यक्ष सुवेदीले शिक्षकहरूको जायज मागलाई सम्बोधन नगरी शिक्षा क्षेत्रमा स्थायित्व र शान्ति सम्भव नभएको भन्दै सरकारसँग गम्भीर संवादको आवश्यकता औंल्याएका छन्।

महासंघको भनाइ अनुसार, शिक्षकहरूको आन्दोलन शिक्षाको गुणस्तर सुधार, पेशागत सुरक्षा र सेवा सुविधाका सवालमा आधारित छ। आन्दोलनका कारण देशभरका थुप्रै विद्यालय प्रभावित भएका छन् भने हजारौं विद्यार्थीको पठनपाठनमा अवरोध उत्पन्न भएको छ ।

शिक्षक महासंघले सरकारसँग बारम्बार संवादको प्रयास गरे पनि मागहरू सम्बोधन नभएकाले आन्दोलनलाई निरन्तरता दिनु परेको स्पष्ट पारेको छ । अब अदालतको आदेशपछि सरकारले कस्तो कदम चाल्ने हो भन्ने चासो देशभर बढेको छ ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *