अर्थ

संखुवासभामा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार : प्रहरीले आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढायो

संखुवासभामा शिक्षकद्वारा छात्रामाथि यौन दुर्व्यवहार : प्रहरीले आरोपीलाई पक्राउ गरी अनुसन्धान अघि बढायो
  • PublishedApril 23, 2025

संखुवासभाको प्रमुख सहर खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत एक शिक्षक विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । चैनपुर नगरपालिका –३, सिद्धकालीका स्थायी बासिन्दा बिवेक खत्रीलाई बालिकामाथि यौन दुराचारको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, खत्रीले आइतबार बिहान करिब १ बजेतिर विद्यालयकै छात्रावासमा बस्ने एक नाबालिकालाई आफ्नो कोठामा बोलाई दुर्व्यवहार गरेका थिए । घटनापछि पीडित बालिकाले आफ्नो अभिभावकलाई जानकारी गराएपछि विद्यालय प्रशासनमार्फत प्रहरीमा उजुरी दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक तथा प्रवक्ता रामकुमार लामिछानेका अनुसार, पक्राउ परेका खत्री विद्यालयको होस्टलमा नै बस्दै आएका थिए र सोही होस्टलमा घटना घटेको हो। उनले बालिकालाई रातको समयमा आफ्नो कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले खत्रीलाई पक्राउ गरी संखुवासभा जिल्ला अदालत, चैनपुरबाट पाँच दिनको म्याद थप गरेको छ । हाल उनीमाथि ‘बाल यौन दुरुपयोग’ शीर्षकको मुद्दामा अनुसन्धान भईरहेको छ। प्रहरीले घटनास्थलको अनुगमन गरिसकेको र थप प्रमाण संकलनको कार्य जारी रहेको जानकारी दिएको छ ।

यस घटनाले स्थानीय स्तरमा मात्र नभई सामाजिक सञ्जालमा समेत चर्चा पाएको छ। अभिभावक तथा स्थानीय बासिन्दाले शिक्षकको यस्तो अमानवीय व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन् र विद्यालय प्रशासनसँग सुरक्षा र पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।

विद्यालयका प्रधानाध्यापकले घटनाको पुष्टि गर्दै अनुसन्धानमा पूर्ण सहकार्य गरिरहेको बताएका छन्। साथै विद्यालय प्रशासनले आन्तरिक अनुशासन र निगरानी प्रणाली अझ कडा बनाउने प्रतिबद्धता जनाएको छ ।

यस प्रकारको घटना बालबालिकाको सुरक्षामा प्रश्न उठाउने गम्भीर मुद्दा हो, जसको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा कारबाहीको माग गरिँदै आएको छ । नेपालमा पछिल्लो समय शैक्षिक संस्था भित्रै यौन दुर्व्यवहारका घटनाहरु सार्वजनिक हुँदै गएका छन्, जसप्रति राज्य, समाज र विद्यालयहरू गम्भीर भएर बालमैत्री वातावरण निर्माणमा लाग्नुपर्ने आवश्यकता देखिन्छ ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *