कश्मीर आक्रमणमा ज्यान गुमाए बुटवलका सुदीप, घुमघामको यात्रामा कहालीलाग्दो अन्त्य
जम्मू-कश्मीर – घुमघामको रमाइलो यात्रामा निस्केका बुटवलका एक युवाले कश्मीरमा ज्यान गुमाएका छन् । जम्मू-कश्मीरको पहलगाममा मंगलबार भएको बन्दुकधारी आक्रमणमा बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको पुष्टि भएको हो।सुदीप आफ्नी आमा रीमा न्यौपाने, बहिनी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसँग शनिबार कश्मीर घुम्न गएका थिए । तर, उनीहरूको उत्साहजनक यात्रा अचानक शोकमा परिणत भयो ।वडा नम्बर १४ का अध्यक्ष दधिराम न्यौपाने, जो मृतक सुदीपका काका हुन्, भन्छन्, “कश्मीरको घटनामा ज्यान गुमाउने मेरा भतिज हुन। यो हाम्रो परिवारका लागि ठूलो पीडा हो ।”सुदीप धरानमा रहेर पब्लिक हेल्थमा स्नातक अध्ययन गर्दै थिए। जीवनका सपना बुन्दै गरेका उनी परिवारसँग केही दिनको विश्रामका लागि कश्मीर पुगेका थिए । घटनामा अन्य परिवारका सदस्यहरू भने सकुशल रहेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिएका छन् । उनका बाबु कौशल न्यौपाने बुटवलमै शिक्षकको पेशामा छन् । मृतकको शवलाई बुधबार नेपाल ल्याउने तयारी भइरहेको छ । कश्मीरबाट दिल्ली र त्यहाँबाट काठमाडौं हुँदै बुटवल ल्याइने कार्यक्रम छ। वडा अध्यक्ष न्यौपाने आफैं काठमाडौंतर्फ गइसकेका छन् ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पनि घटनामा परेर ज्यान गुमाउने सुदीप नै भएको पुष्टि गरेका छन् ।घुम्न गएकाहरूका लागि कश्मीर स्वर्ग जस्तै लाग्न सक्छ, तर सुदीपका लागि त्यो यात्राले जीवनकै अन्त्य ल्यायो। परिवार, आफन्त र बुटवलवासी शोकमा छन् ।