जीवनशैली

झापामा अवैध मोबाइल पाट्ससहित गाडी बरामद, झन्डै ३५ लाखको सामान कब्जा

झापामा अवैध मोबाइल पाट्ससहित गाडी बरामद, झन्डै ३५ लाखको सामान कब्जा
  • PublishedApril 22, 2025

झापा जिल्लाको भद्रपुर नगरपालिका–९ स्थित घोडामारा चोकमा प्रहरीले ठूलो परिमाणमा अवैध सामानसहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याइँदै गरेका मोबाइल फोनका पाट्र्ससहितको उक्त गाडीलाई प्रहरी चौकी घोडामाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बा १८ च ४६१६ नम्बरको पिकअप गाडी सोमबार साँझतिर भारतबाट नेपाल प्रवेश गर्ने क्रममा शंका लागि चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा गाडीभित्र लुकाइराखिएको २० वटा कार्टुनमा राखिएका मोबाइल फोनका विभिन्न पाट्र्स फेला पारिएको हो ।

गाडीबाट बरामद गरिएको सामग्रीको अनुमानित बजार मूल्य रु. २९,८७,२०० रहेको प्रहरीले जनाएको छ । साथै, उक्त गाडीको मूल्य करिब रु. ५,००,००० रहेकोले कुल बरामद सामानको मूल्य रु. ३४,८७,२०० पुग्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बरामद सामानमा विभिन्न ब्रान्डका मोबाइलका स्क्रिन, ब्याट्री, बोर्ड, क्यामेरा, स्पिकरलगायतका स्पेयर पाट्र्सहरू रहेका छन् । प्रारम्भिक अनुसन्धान अनुसार ती सामानहरू भन्सार छलि चोरी पैठारी गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ ।

प्रहरीले पिकअप गाडीसहित चालकलाई पनि नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ । अवैध रूपमा सामान भित्र्याउने गिरोहको पहिचान गर्न र संलग्न व्यक्तिहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।

झापा जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो समय भन्सार छलि चोरी पैठारी हुने घटनाहरू बढ्न थालेको छ। यस प्रकारका घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा निगरानी कडा बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले सर्वसाधारणलाई पनि यस्ता अवैध गतिविधिका बारेमा जानकारी भएमा तुरुन्तै जानकारी गराउन अनुरोध गर्दै, अवैध कारोबार र तस्करीविरुद्ध कडा कारबाही जारी रहने जनाएको छ ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *