कला साहित्य

प्रिय कमरेड

प्रिय कमरेड
  • PublishedApril 20, 2025

प्रिय कमरेड,
तिमी त गजबको सपना देखाउँथ्यौ,
“जनताको शासन, जनताको आवाज” भन्दै
झोला बोकी, पैदल हिंड्थ्यौ,
धूलो खाँदै, नाराहरू गर्थ्यौ ।

तिमीलाई हामीले विश्वास गर्यौं,
घरको चुल्हो निभाएर
तिमीलाई मत दियौं, आशा दियौं
तर आज तिमी —
शीतल कुर्सीमा,
भूलियौ ती खुला आकासमुनि सुत्नेहरूलाई ।

हिजो तिमी हुन्थ्यौ
हाम्रो आवाज, हाम्रो ढाल
आज तिमी भयौं
कानुनको नाममा लाठी बोकेको चाल ।

हिजो तिमीले भनेका थियौ,
“शिक्षा, स्वास्थ्य — अधिकार हो !”
आज तिमी भन्छौ,
“नीति अनुसार सम्भव छैन ।”

प्रिय कमरेड,
हामी त अझै पनि
छाप्रोभित्र आकाश हेर्छौं,
तिमी भने सिसाको महलबाट
हाम्रो आँसु हेरेर भाषण लेख्छौ ।

यो कैले टुंगिन्छ कमरेड ?
हाम्रो क्रान्ति त
तिमीले जितेका कुर्सीमा होइन,
हाम्रो छोरीले स्कुल जान पाउँदा जितिन्छ,
हाम्रो आमा अस्पतालबाट मुस्काउँदै फर्किंदा जितिन्छ ।

त्यस दिन, कमरेड,
तिमीलाई फेरि
प्रिय भन्न मन लाग्ला

                     कुशल तिम्सिना

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *