कला साहित्य

कविताको शिर्षक -शहीदको सम्मानमा

  • PublishedApril 16, 2025

कविताको शिर्षक “शहीदको सम्मानमा”

लेखक ✍️अर्जुन सी

अब तिमी नै भन शहीद,
श्रध्दाका फूलहरूमा सुगन्ध आउनुपर्थ्यो,
दुर्गन्ध आयो किन ?
शहीदका सपना पुरा गर्ने यि
हातहरु माथि भ्रष्टहरु को शासन किन ?
बिभेद अन्त्य गर्न लडेका यिनै शहीदहरुमा बिभेद चाहीं किन ?

शहीद आज तिमीले बलिदान गरेको दिन,
मृत्यु को परिभाषा लाई तिमीले बदलेको दिन ।
तिमी मरेका होइनौ सहादात हासिल गरेका थियौ।
हो, शहीद हुनेहरू कहिल्यै मर्दैनन् ,
तिम्रो बलिदान सँगै क्रान्तिले उचाई प्राप्त गरेको थियो।
सगरमाथा को उचाई पनि तिम्रो बलिदान अगि थोरै होचो झै लाग्थ्यो ।


आकाश भन्दा माथि तिम्रो उचाई
देखेर घरिघरि लोभ लाग्दो रहेछ तिम्रो मृत्युमा पनि।
तिमीले बगाएको रगत अझै आलै छ,
तिम्रो रगतले सिंचिएको धर्तीमा
सहयोध्दाहरु बाटो बिराएको बटुवा झै भा छन्।


तिम्रो तस्विर अगाडि उभिएर
श्रध्दासुमन अर्पण गर्दै गर्दा
दलालहरु को अनुहार सम्झेर दिक्क लाग्छ।
शहीदको नाममा पसल थापेर ब्यापार गर्नेहरुको कमि छैन यँहा।
तिम्रा सपनाहरु बेचेर ऐस
आरामको जिन्दगी बाँचिरहेछन् केहि मानिसहरु,
फेरि तिम्रै सपना साँचेर क्रान्ति को बाटो पछ्याईरहेछौ हामी ।


तिम्रो सपना गरिबहरुको झुपडीमा देखिन्थ्यो,
तिमीले देखेको सपना उत्पिडित र सिमान्तकृत बस्तीहरुमा भेटिन्थ्यो।
साँच्चै भनुँ शहीद ,तिम्रो सपना गणतन्त्र र समाजवादमा आउँथ्यो।
सँसदिय फोहोरी खेलको डँगुरमा गणतन्त्र लाई दुर्गन्धित बनाएर।
समाजवाद ल्याउन कसिएका तिम्रै सहयोध्दाहरु ,
नातावाद ,कृपावाद र गुटको फेरो समातेर रमाईरहेछन्।


अब तिमी नै भन शहीद,
श्रध्दाका फूलहरूमा सुगन्ध आउनुपर्थ्यो,
दुर्गन्ध आयो किन ?
शहीदका सपना पुरा गर्ने यि
हातहरु माथि भ्रष्टहरु को शासन किन ?
बिभेद अन्त्य गर्न लडेका यिनै शहीदहरुमा बिभेद चाहीं किन ?

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *