गाउँमै श्रम गरेर ‘लेबी’ तिर्छन् वली
वैशाख २, २०८२

- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य ५७ वर्षीय चूडामणि वली पार्टीलाई मासिक एक हजार शुल्क बुझाउँछन्, उक्त रकम उनले श्रम गरेरै जुगाड गरिरहेका छन्
राेल्पा —अग्लो जिउडाल, सेतै फुलेको कपाल र आँखामा चस्मा लगाएका ५७ वर्षीय चूडामणि वली अहिले पश्चिमी रोल्पा र सल्यानको सिमानामा पर्ने सडक निर्माणको काममा व्यस्त छन् । ‘अढाई महिनादेखि यहीँ खटिएको छु,’ उनले भने, ‘सडक चौडा बनाउने, नाला बनाउने, ढलान गर्ने र ढुंगा ओसार्ने काम गरिरहेको छु ।
पश्चिम रोल्पाको सुकीदह अर्थात् गंगादेव गाउँपाकिा–३ जिनाबाङ निवासी उनी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य हुन् । पार्टीले श्रम गर्ने नीति अघि सारेपछि उनी कपिलवस्तुस्थित पार्टीको केन्द्रीय कार्यालयबाट बिदा लिई श्रम गर्न सडक खन्ने काममा संलग्न हुन यहाँ आएका हुन् । ‘श्रम गरेपछि आत्मनिर्भर हुन सकिन्छ । म श्रम गरेर आर्थिक उपार्जन र पारिवारिक समस्या समाधान गर्न सडक खन्ने काम खोज्दै यहाँ आइपुगेको हुँ,’ उनी भन्छन्, ‘यस क्रममा म गाउँघरमै गर्न सक्ने काम खोज्दै यहाँ आएको छु । सडक निर्माणको काम गरेरै आर्थिक उपार्जन गर्दै छु । यो श्रमको मेरो कमाइ हो ।’
सल्यानको कपुरकोटदेखि रोल्पाको झ्याम–बुरासे–पातिहाल्ना हुँदै सल्यानको बाफुखोला पुग्ने सडक निर्माणमा अहिले आफूले काम पाएको उनले बताए । सरकारले टेन्डर गरेको करिब १ करोड बजेटको उक्त सडक सल्यानका युवाहरूले ४७ लाख रुपैयाँमा निर्माण गर्ने ठेक्का पाएका थिए । त्यसै सडकको काममा नियमित रूपमा श्रम गर्न पाउँदा घरखर्च र पार्टीलाई बुझाउने लेबी रकम जुटिरहेको उनको भनाइ छ ।
सल्यानका युवाहरूले ठेक्कामा लिएको सडक योजनामा उनी पनि काम गर्न सहभागी भएका हुन् । ‘पार्टी हेडक्वार्टरबाट काम खोज्दै यहाँ आइपुग्नुभएका उहाँले अन्ततः सडकमा श्रम गर्ने काम पाउनुभयो । उमेर ढल्के पनि युवासरह उहाँ काममा खटिनुभएको छ,’ जिनाबाङस्थित उनका छिमेकी शिक्षक प्रेमबहादुर वलीले भने, ‘कुनै दिन पनि बिदा नलिई नियमित सडक निर्माणमा धुलाम्य भएर श्रम गरिरहनु भएको छ । उहाँको काम गर्ने जाँगर देख्दा लोभ लाग्छ ।
चूडामणिले यसरी काम गरेबापत दैनिक ६ सयदेखि १ हजारसम्म ज्याला पाइरहेका छन् । सडक निर्माणमा श्रम गर्दा दैनिक कमाइ हुने भएपछि उनी खुसी पनि छन् । लामो समय राजनीतिमा लागेकाले आम्दानीको स्रोत नभएपछि श्रम गर्न सरिक भएको उनले सुनाए । आफू राजनीतिमा लागिरहे पनि श्रीमती लेखापढी व्यवसायमा संलग्न भएर काम गर्दै बच्चाबच्ची हुर्काउन र खानपिन सामग्री जुटाउन सक्रिय रहेको उनी बताउँछन् ।
यहाँ सडक निर्माणको काममा लागेका थुप्रै युवा भए पनि उमेर ढल्नेको भने उनी मात्रै छन् । ‘श्रम गर्नेमध्ये कपाल फुलेको वा ज्येष्ठ उमेरको म मात्रै छु । अझ, नेता वा पार्टीको पोलिटब्युरो सदस्य भने म एक्लै हुँ,’ उनले भने, ‘काम गर्ने स्थानीयमा माओवादीका कार्यकर्ता र नेताहरू भने प्रशस्त छन् ।
करिब ७ सय मिटर लामो लेकको सडक निर्माण गर्ने काम छ । सडक तयार पार्न साढे तीन सय घनमिटर ग्याबिन र जाली लगाउनुपर्नेछ भने ६ सय घनमिटर माटोको कटिङ गर्ने काम छ । त्यसो गर्दा दैनिक खुबै श्रम गर्नुपरेको उनको अनुभव छ ।
बढ्दो उमेरमा यसरी श्रम गर्न दुर्गम गाउँमा खटिएको उनको परिवारका सदस्य र पार्टी नेतृत्वलाई समेत जानकारी छ । ‘म केन्द्रीय कार्यालयबाट बिदा मिलाएर श्रम गर्नकै लागि सडक निर्माणमा खटिएको हुँ । एकातिर पार्टीले सबै नेता–कार्यकर्ताले श्रम गर्ने नीति ल्याएको र अर्कातिर यसरी श्रम गर्दा आर्थिक उपार्जनसमेत हुने भएकाले श्रममा जोडिएको हुँ,’ उनले भने । श्रममा जोडिएको प्रति पार्टीका महासचिव नेत्रविक्रम चन्दले धन्यवादसहित हौसला दिएको पनि उनले सुनाए ।
‘मेरो काम देखेर महासचिव खुसी हुनुभएको छ । उहाँ आफैंले पनि काम गर्नुहुन्छ,’ वलीले थपे, ‘हामी सबैले श्रमप्रति प्रेम गर्ने र श्रम गर्न उत्साहित हुने वातावरण निर्माण गरेका छौं ।’ सरल स्वभावका उनी हँसिला र सहयोगी पनि उत्तिकै छन् ।
यसरी श्रम गर्दा हीनताबोध नहुने उनको धारणा छ । कुनै पनि काम गर्दा वा श्रम गर्दा लाज मान्नुपर्ने र अप्ठ्यारो मान्नुपर्ने कुनै कारण नभएको उनी बताउँछन् । अझ आफैं जन्मेको गाउँघरकै सडक निर्माण गर्न पाउनु सुखद भएको उनको अनुभव छ ।
श्रम गरेकाले आफूले पार्टीलाई बुझाउनुपर्ने मासिक लेबी तिर्न सजिलो भएको पनि उनले सुनाए । ‘पोलिटब्युरो सदस्यले मासिक एक हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने नियम छ,’ उनले भने, ‘मोटरसाइकलमा लाग्ने इन्धन, खान–बस्न लाग्ने खर्च र परिवारका लागि चाहिने थोरै भए पनि घरखर्च श्रम गरेरै जुटाइरहेको छु ।’
२०४५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएको बताउने उनी धेरैपटक जेल परिसकेका छन् । रोल्पामा ३४ महिना, बाजुरामा २२ महिना र दाङ एवं सुनसरीमा गरी ८१ दिन जेलमा बसिसकेको उनले सुनाए । विद्यार्थी छँदै राजनीतिमा लागेकाले घर–परिवार र आफन्तलाई समय र सहयोग गर्न नसकेको उनको अनुभव छ । वृद्ध आमाबुवाका साथमा लामो समय बस्न र सेवा गर्न नपाएका उनले पार्टी कामका लागि भने निकै समय खर्चेका छन् ।
बिरामी आमाको उपचारका क्रममा अघिल्लो वर्ष मृत्यु भयो भने बिरामी बुवालाई राजधानीमै राखेर परिवारका सदस्यले उपचार गर्दै आएका छन् । २०४२ सालमा गाउँकै विद्यालय वीरेन्द्र मावि नाउलीमा पढ्दा तत्कालीन मशालको विद्यार्थी संगठनमा आबद्ध भएका वली २०४५ पछि भने पार्टीमा लागे । २०५२ फागुन १ देखि भूमिगत हुने नेकपा माओवादीको निर्णय कार्यान्वय गर्न उनी पनि भूमिगत भए ।
२०४६ सालको जनआन्दोलनमा समेत गिरफ्तारीमा परेका उनी लामो समय भूमिगत हुने नेतामा पर्छन् । तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा रोल्पा जिल्ला लगायत अन्य जिल्लाको सेक्रेटरी रहेका उनी शान्ति प्रक्रियापछि पनि धेरै पटक जेल र गिरफ्तारीमा परे ।
सशस्त्र द्वन्द्वको अवधिमा पार्टीका साथै लडाकु दस्ताको राजनीतिक कमिसारका रूपमा भूमिका निर्वाह गरेका उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् । २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा गंगादेव गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार भएका बेला थोरै मतले उनी पराजित भएका थिए ।
स्रोत :-कान्तिपुर समाचार