दुर्गा प्रसाईंलाई सुरक्षाकर्मीको निगरानीमा भारतबाट नेपाल ल्याइयो, झापामा राखिने तयारी
राजसंस्था समर्थक आन्दोलनका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनी शुक्रबार नेपाल–भारतको मेची पुल नाका हुँदै सुटुक्क नेपाल ल्याइएको प्रहरीले जनाएको छ । प्रसाईंलाई भारतीय सुरक्षाकर्मीले बिहीबार भारतको आसाममा नियन्त्रणमा लिएका थिए। समर्थकहरूको भिडका कारण तत्काल नेपाल ल्याउन कठिन भएपछि नियोजित ढंगले उनलाई नेपाल ल्याइएको स्रोतको भनाइ छ। समर्थकलाई थाहा नहोस् भनेर उच्च गोपनीयतामा उनलाई सीमा पार गराइएको हो । नेपाल प्रवेशपछि उनलाई झापा जिल्लामा राखिएको छ। यद्यपि झापा प्रहरीले यसबारे औपचारिक जानकारी नपाएको जनाएको छ। झापा प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र बहादुर खड्काले जिल्ला प्रहरीलाई जानकारी नभएको प्रतिक्रिया दिए। स्रोतका अनुसार प्रसाईंलाई उडानको पर्खाइमा झापामै राखिनेछ । १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनलाई हिंसात्मक बनाएको आरोपमा प्रसाईं प्रहरीको निगरानीमा आएका थिए। प्रदर्शनमा दुईजनाको ज्यान गएको थियो भने उनी त्यस दिन बेलुकादेखि फरार भएका थिए।
फरार भएपछि उनी बिएबी–४२०८ नम्बरको स्कोर्पियो गाडीमा इटहरीसम्म पुगेका थिए। त्यसपछि झापा पुगेर आफ्नो अस्पताल हुँदै भारत प्रवेश गरेका थिए। भारतमा केही समय सिलिगुडीस्थित एक नेताको फ्ल्याटमा लुकेर बसेका उनी, प्रहरीलाई खबर पुगेको थाहा पाएपछि पुनः फरार भएका थिए।
प्रसाईंविरुद्ध अब हिंसात्मक आन्दोलनको नेतृत्व गरेको आरोपमा थप अनुसन्धान अगाडि बढाइने जनाइएको छ।