गौरादहमा लागू औषधसहित दुई जना पक्राउ
झापा, चैत २६ – झापाको गौरादह नगरपालिका वडा नम्बर ४ स्थित मैदान घोपाबाट लागू औषध खैरो हेरोइनसहित दुई जना युवा पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा सोमबार साँझ करिब ७:३० बजे प्रहरीले सो क्षेत्रमा खानतलासी गर्दा २३ वर्षीय उमेश गिरीलाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो। प्रहरीले गिरीको साथबाट प्लास्टिक बाहेक २ ग्राम लागू औषध बरामद गरेको जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा गिरीले उक्त लागू औषध गौरादह नगरपालिका वडा नम्बर २, राधाकृष्ण टोलका २४ वर्षीय मनोज भारतीबाट खरीद गरेको बताएका छन्। गिरीको बयानका आधारमा प्रहरीले भारतीलाई पनि नियन्त्रणमा लिएको छ।
हाल दुबैजनालाई हिरासतमा राखी लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।