राजनीति

विप्लवको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारीको प्रथम साधारण सभा भव्य रूपमा सम्पन्न

  • PublishedApril 5, 2025

काठमाडौं, चैत्र २३ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सीको प्रमुख आतिथ्यमा जनश्रम कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा आज काठमाडौंको बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भयो।

सहकारी क्षेत्रको सशक्तिकरण र कृषि उत्पादन प्रवर्द्धनका लागि आयोजना गरिएको यो कार्यक्रम भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको हो।

देशका विभिन्न क्षेत्रबाट आएका सहकारीका शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा संस्थाका सचिव दिनेश सीले संयोजन भूमिका निर्वाह गरे।

कार्यक्रममा संस्थाकी उपाध्यक्ष सम्झना सीले अतिथिहरू र सहभागीहरूलाई स्वागत गर्दै सहकारीको यात्रालाई सुदृढ बनाउन सबैको योगदान अपरिहार्य रहेको बताइन्।

सभामा अध्यक्ष सन्देस सीले आगामी कार्ययोजना प्रस्तुत गर्दै उत्पादन र बजारलाई जोड्ने, श्रम र प्रविधिको समायोजन गर्ने र सदस्यहरूको सक्रिय सहभागितामा सहकारीलाई अझ प्रभावकारी बनाउने लक्ष्य प्रस्तुत गरे। उनले हाल ७२ जना सदस्य रहेको सहकारीलाई विस्तार गर्दै सामूहिक उत्पादनमा जोड दिने योजना साझा गरे।

कार्यक्रममा सहकारीका प्रशिक्षक प्रकाश अधिकारी र व्यवस्थापक सुशील सीले सहकारीको वर्तमान अवस्था, चुनौती र सम्भावना बारे प्रस्ट विवरण प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिपछि सहभागीहरूबीच विचार-विमर्श पनि भएको थियो।

सभाका प्रमुख वक्ता तथा संरक्षक विप्लव सीले सहकारीलाई नगद आम्दानी र उत्पादनसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिए। उनले देशको आर्थिक समृद्धिका लागि सहकारी र उद्योग क्षेत्रको सहकार्य अनिवार्य रहेको धारणा राखे।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *