काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर, मेयर बालेन्द्र साहको कडा कदम
काठमाडौं २०८१/१२/ २१ – काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं तीन महिनाभन्दा बढी समयपछि कार्यालयमा हाजिर भएका छन् । उनलाई कर्मचारी र वडाध्यक्षहरूको पहलमा ३ महिना १४ दिनपछि कार्यालयमा छिराएर हाजिर गराइएको हो ।
तर, उनको हाजिरी लगत्तै एक अनौठो घटनाले चर्चा पाएको छ। उनलाई तोकिएको गाडी प्रयोग गर्न नदिने उद्देश्यले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) ले उक्त गाडीमा ह्वील लक लगाएका थिए। यस घटनापछि गुरागाईं कार्यालयबाट बाहिरिएका थिए र उनी वातावरण विभागको गाडीमा सिंहदरबारतर्फ प्रस्थान गरेका थिए।
सरोज गुरागाईं लामो समयदेखि अनुपस्थित रहँदा महानगरपालिकाभित्र प्रशासनिक काममा असर परेको गुनासो विभिन्न पक्षबाट उठिरहेको थियो। उनी फागुन महिनामा सरुवा गरिएपछि पदस्थापनाको विषयमा अन्योल कायमै थियो। तर, अन्ततः उनलाई कर्मचारी र स्थानीय वडाध्यक्षहरूको पहलमा कार्यालय प्रवेश गराइएको हो।
मेयर बालेन्द्र साहको यो कदमबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। केहीले प्रशासनिक चुस्तता कायम गर्न उठाइएको कदम भनेका छन् भने केहीले यसलाई द्वन्द्व बढाउने कार्यको संज्ञा दिएका छन्।
यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं वा मेयर बालेन्द्र साहको आधिकारिक प्रतिक्रिया भने हालसम्म प्राप्त भएको छैन।