राजनीति

उपप्रमुख डंगोलको चुनौती : ‘कोठाबाट होइन, कार्यालयमै आएर समस्या समाधान गर्नुपर्छ

उपप्रमुख डंगोलको चुनौती : ‘कोठाबाट होइन, कार्यालयमै आएर समस्या समाधान गर्नुपर्छ
  • PublishedApril 3, 2025

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि बिहीबार कार्यालय प्रवेश गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई पुनः हाजिर गराउने निर्णय गरेपछि उनी कार्यालय पुगेका हुन् ।

गुरागाईं कार्यालय प्रवेश गर्दा उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारी पनि सँगै थिए। तर मेयर बालेन साहले नगरप्रहरी परिचालन गरी उनलाई रोक्ने प्रयास गरेका थिए। नगरप्रहरीको अवरोध चिर्दै गुरागाईंलाई कर्मचारीहरूले कार्यालय प्रवेश गराएका थिए ।

तर, कार्यकक्षमा प्रवेश गर्न खोज्दा ताला लगाइएको थियो। त्यसपछि कार्यपालिका सदस्यहरूको बैठक बसेर निर्णय गर्दै ताला तोडेर गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो ।

बैठकमा उपप्रमुख डंगोलले मेयर साहको कडा आलोचना गरिन्। उनले जनप्रतिनिधिले जनताको सेवामा केन्द्रित हुनुपर्ने बताउँदै, मेयर साहलाई कोठामा बसेर निर्देशन मात्र नदिन चेतावनी दिइन्। ‘कर्मचारीबीच झडप हुनु राम्रो होइन। संस्थाभित्र यस्तो मनमुटाव हुनु हुँदैन,’ उनले भनिन् ।

डंगोलले गुरागाईं दोषी प्रमाणित नभइसकेको बताउँदै कानुनी प्रक्रिया पूरा गरेर मात्र निर्णय गर्नुपर्ने बताइन्। ‘हजारौं कर्मचारी र लाखौं काठमाडौंवासीले दुःख पाएका छन्। क्यान्सरपीडितलाई पनि राहत दिन सकेका छैनौं। यदि थप छानबिन आवश्यक छ भने गरौं, तर पीडामा राख्नु हुँदैन,’ उनले जोड दिइन् ।

मेयर साहको शैलीप्रति प्रवक्ता नवीन मानन्धर र वडाध्यक्षहरू समेत असन्तुष्ट देखिए। नगरप्रहरी प्रमुख राजु पाण्डेले उपप्रमुख डंगोलको प्रश्नको गोलमटोल उत्तर दिएपछि दबाब बढेको थियो । अन्ततः उनले मेयर साहकै मौखिक आदेशमा ताला लगाइएको स्वीकारे ।

कर्मचारी तथा वडाध्यक्षहरूले मेयर साहको कार्यशैलीप्रति असन्तोष जनाउँदै नाराबाजी गरेका थिए। उनीहरूले मेयर समस्या समाधानमा भन्दा स्टन्टमा केन्द्रित रहेको आरोप लगाए। मेयर साहले व्यक्तिगत ‘इगो’का कारण प्रशासकीय प्रमुखलाई कार्यालय प्रवेशमा रोक लगाएको र तलबसमेत रोक्का गरेको भन्दै कर्मचारी आक्रोशित देखिए ।

अब यो विवाद कसरी समाधान हुन्छ भन्ने प्रतीक्षा रहनेछ ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *